शान्ति दोङका दुःख

Author Profile: Khem Paudyal

This author has published 28 articles so far. More info about the author is coming soon.
User Rating:  / 0
PoorBest 

 

यज्ञश/होम कार्की

 

काठमाडौ, चैत्र १९ - 'कुन त्यो अपाङ्ग ?' कालीदेवी प्राविमा बन्दै गरेको ट्वाइलेटको गाह्रो लगाइरहेका एक डकर्मीले सोधे । बिहानै काठमाडौंबाट हेटौंडा र त्यहाँबाट डेढ घन्टा जति मोटरसाइकलमा सामरी खोलाको बगरमा कुदेपछि हामी मकवानपुर, आमभञ्ज्याङ गाविसको घोप्टेव्यासी पुगेका थियौं ।
 
मंसिर ९ गते यो बाटोमा एउटा एम्बुलेन्स दौडिएको थियो । टाउकोमा रातो बत्ती जडेको यो गाडीबाट एउटा खिरिलो शरीरलाई बाहिर निकालियो । सुकेर मुरलीजस्तो भएको त्यो शरीरलाई तेजबहादुर दोङको घर पुर्‍याइयो ।
 
गएको शनिबार हामी पुग्दा शान्ति दोङ सदाझैं शान्त थिइन् । तेजबहादुरकी यी ठूली छोरी उसैगरी माथिल्लो तलाको एउटा सानो कोठामा कम्मल ओढेर सुतिरहेकी थिइन् । पछिल्लो छ वर्षदेखि उनको जीवनमा एउटै मात्र घटना भइरहेको छ । उनी केवल सुतिरहेकी छन् । शान्तिको यो अवस्थालाई 'कोमा' भनिन्छ । मस्तिष्कमा गहिरो आघात पुगेका कारण शरीरका अन्य अंगमा मस्तिष्कको नियन्त्रण छैन । यसैले न हातखुट्टा चल्छ, न बोली फुट्छ । २३ वर्षीया शान्तिका छ वर्ष यसरी नै बितिसके ।
 
'मलाई र आमालाई चाहिँ चिन्छ,' तेजबहादुरले भने । कहिलेकाहीँ टाउको र हात हल्लिएजस्तो हुन्छ । 'कैले कैले त होसमै आएजस्तो हुन्छ, जीउ तातो र अनुहार रातो हुन्छ,' आमा सुनिमायाले भनिन् । बाँकी समयचाहिँ पूरा शीतल । मनभित्रै सेलाएको आँसुको ढिक्का शरीरभरि फैलिएजस्तो !
 
कोठामा माखाको साम्राज्य छ । घर छेउमा बगेको सामरी खोलाले गर्मी ल्याइसक्यो । तर, शान्तिलाई कम्मल ओढाउनुपर्छ । ज्यानमा जोडिएका केही पाइप छन्, जसलाई जोगाउनुपर्छ । शरीरमा केही घाउ छन्, जसलाई छोप्नुपर्छ । भित्री मनका घाउलाई कुन मलम लगाउने हो तेजबहादुरलाई थाहा छैन । थाहा भएकी छोरी बोल्दिनन् । आँसुले कुनै चित्र लिएर बग्दैन । न कुनै संकेत दिन्छ ।
 
घाँटीमा एउटा ठूलो घाउ निको भएर खत बस्न लागेको छ । मुखबाट खान नमिलेपछि झोल खाना पठाउनका लागि घाँटीमा पाइप जोडिएको यो प्वालले अहिले काम गर्दैन । छाती र पेटको बीचमा करंगलाई छलेर प्वाल पारिएको छ । यसैले शान्तिको पेटमा मुटुको छेवैबाट खाना पुग्छ ।
 
सुकौराबाट सात वर्षअघि आमभञ्ज्याङ सरेका तेजबहादुर सामान्य किसान हुन् । ४२ वषर्ीय यिनको गाउँकै सुनिमाया दोङसँग मागी विवाह भएको थियो । सुनिमाया तेजबहादुरभन्दा जेठी छन्, ६ वर्ष जतिले । यिनका जम्मा पाँच सन्तान भए, तीन छोरा दुई छोरी ।
 
सबभन्दा जेठो छोरा २४ वर्षका भए । उनी साउदीमा छन् । अरू दुई छोरा मलेसिया । कान्छी छोरी बल्ल तेह्रकी भइन् । अहिले घरमा तेजबहादुरका आमाबुबा, जेठी बुहारी, अढाई वर्षकी नातिनी पनि छन् । घरमा जेठी छोरी पनि भएको कुनै चिन्ह, निसान छैन । माथिल्लो तलाको बार्दली छेउ शान्तिका आँखा भने सधैं खुला छन् । उनको टाउकोलाई झ्यालनेर पारेर राखिएको छ । यी आँखाले कति ठूलो संसार देख्छन्, थाहा छैन ।
 
जीवन पहिले यति अमूर्त थिएन ।
 
 
 
दोङ परिवारमा सबै ठीकै चलिरहेको थियो । पढ्ने पढिरहेका थिए, विदेश जाने गइरहेका थिए । पाँच-छ हलको मेलो खेतमा जीवन मध्यफागुनको घामजस्तो थियो । न धेरै गर्मी, न धेरै जाडो ।
 
आठ कक्ष्ाामा पढ्ने जेठी छोरी शान्ति भर्खर १७ पुगेकी थिइन् । एक दिन उनले बाबुलाई भनिन्, 'म पनि विदेश जान्छु ।' गाउँका धेरै केटी खाडी भासिएका थिए, हाउस मेड बन्न । यो कामको विशेषता के भने, न भिसाको पैसा लाग्ने न टिकटको । तेजबहादुरकै बहिनीले पठाउने काम गर्थिन् । कुवेत जाने खर्च निस्कियो- १५ हजार । शान्ति सँगैका गाउँका अरू पाँच दौंतरी पनि जान कस्सिए । साथीको पीर पनि भएन ।
 
पहिले शान्तिको नागरिकता बन्यो । कुवेत जाने भनेर तोकिएको दिन आइपुग्न तीन दिन बाँकी थियो । बिहानै छोरीलाई घरबाट लिएर तेजबहादुर निस्किए । तिनैताका कुनै दिन खिचेर घरको एल्बममा जतनसाथ राखिएको फोटोमा झैं शान्ति टम्म परेकी अग्ली केटी थिइन् । बाबु छोरी आइपुगे हेटौंडा । पासपोर्टको
 
निवेदन हालेर एक दिन जिल्ला सदरमुकाममा बिताएपछि भोलिपल्ट हातमा पासपोर्ट आइपुग्यो ।
 
महेन्द्र राजमार्ग छेउमा तेजबहादुरले वीरगन्ज जाने बस रोके । छोरीलाई चढाए । र, बस नहराउन्जेल हेरिरहे । त्यो २०६१ माघ २० गतेको दिन थियो । अघिल्लो दिनमात्र काठमाडौंमा राजा ज्ञानेन्द्रले 'कु' गरेका थिए । त्यसको भोलिपल्ट शान्ति कुवेत जाँदै थिइन्, त्यहाँ जीवनमाथि नै यत्रो 'कु' होला भन्ने उनलाई अनुमान थिएन । वीरगन्जबाट शान्ति दिल्ली पुर्‍याइन् र तेलको देश कुवेत जाने जहाजमा बसिन् । तेजबहादुरको गुँडबाट अर्को एउटा बचेरा अपरिचित देशतिर उड्यो ।
 
पुगेको पहिलो महिना छोरीको चिठी आयो, पिताको नाममा । '...आगे म यहाँ ठीक छु' टाइपको बेहोरो भएको । तेजबहादुर कहिल्यै विदेश गएनन् । तर, उनका चार सन्तानले सात समुद्र काटे । चिठीमा शान्ति एउटा मिति लेख्थिन् । त्यो मितिमा तेजबहादुर हेटौंडा पुग्थे । कारण के थियो भने, घरमा फोन थिएन । न हातहातमा मोबाइल आइसकेको बेला थियो । महिनामा एकपल्ट जस्तो शान्ति हेटौंडाको टेलिफोन अफिसमा फोन गर्थिन् । बाबु गएर बोल्थे । र, शान्तिकी आमालाई ल्याएर खबर सुनाउँथे, 'छोरी ठीक छ ।' एक वर्ष यो क्रम चलिरह्यो । शान्तिले दुईपल्ट पैसा पठाइन्, ३५ हजार । काम पनि राम्रो छ भन्थिन् । यसैले घरमा सबैलाई चैन थियो ।
 
तर, एक वर्षपछि चिठी आउन छोड्यो । चिठीसँगै मिति आउन छोड्यो, फोन आउन छुट्यो । एक दुई महिना गर्दागर्दै वर्ष दिनसम्म शान्तिको अत्तोपत्तो नभएपछि तेजबहादुरले छोरी पठाउने बहिनी खोजे ।
 
'काम गर्ने घर फेरेको होला, केही समयपछि भेटिन्छ, आत्तिनु पर्दैन,' जसलाई सोधे पनि यसै भन्थे ।
 
बिस्तारै आमालाई पीर पर्न थाल्यो । स्कुल पढ्दा पढ्दै कमाउन गएकी छोरीको अत्तोपत्तो छैन । एक वर्ष बित्यो, दुई वर्ष बित्यो, तीन वर्ष, चार वर्ष गयो । न छोरी आउँछे न खबर ।
 
त्यस्तैमा पत्रिकामा एउटा समाचार आयो, 'पाँच वर्षदेखि नेपाली युवती कुवेतको अस्पतालमा ।' तेजबहादुरले खोजे । त्यो उनकी छोरी थिइन् र उनी कोमामा थिइन् । कुवेतस्थित नेपाली दूतावासले दिएको जानकारी समाचारमा लेखिएको थियो । जसका अनुसार गएको एक वर्षमै पाँच तलामाथिबाट हामफालेपछि शान्ति कोमामा पुगेकी थिइन् । समाचार छापिएपछि उनलाई नेपाल ल्याउने पहल भयो । कुवेतको अस्पतालले पाँच वर्षसम्मको उपचार खर्च बेहोरिदियो, जुन करिब ७६ लाख नेपाली रुपैयाँ थियो ।
 
पाटन अस्पतालले उनलाई नेपाल ल्याएर त्यत्तिकै राम्रो उपचार गर्ने ग्यारेन्टी लिएपछि शान्तिलाई साउन १९ गते नेपाल ल्याइयो । अस्पतालकी एक नर्स सावित्री भण्डारी शान्तिलाई लिन कुवेत पुगिन् । नेपाली दूतावासका कर्मचारीसमेत भएर 'मेडिकल स्कर्टिङ'मा शान्तिलाई काठमाडौं ल्याइयो ।
 
छ वर्षदेखि छोरी देख्न नपाएका तेजबहादुरले छोरी देखे । छोरीको अघि पुगेपछि तेजबहादुरले एकोहोरो हेरे । छोरीका आँखाले पनि बाबु देखे । र, ती आँखामा आँसु आए । ती आँसु बाबुलाई चिनेको प्रमाण थिए कि आफूले पाएका दुःखका दसी, कसैले खुट्याउन सकेन ।
 
'मलाई चिन्यो,' बुबालाई अहिले पनि खुसी लाग्छ । 'मुखै देख्न पाइन्न कि भनेको छोरीलाई त्यो हालमा भए पनि देख्न त पाइयो,' उनको मनले भन्यो ।
 
शान्तिको आँखामा अहिले पनि आँसु आउँछ । जब उनका साथीहरू जुस र हर्लिक्स लिएर आउँछन्, उनका आँखा रसाएजस्ता हुन्छन् । कुनै दिन बुबा वा आमाले आफ्ना दुःखको कथा अरूलाई सुनाउन थाले भने शान्तिको आँखामा आँसु आउँछ ।
 
'बोल्न र चल्न नसक्ने हो, कुरा त सबै बुझ्छ,' आमाले भनिन् । सुनिमायाले यसो भनिरहँदा यस्तो लाग्थ्यो, मानौं अब शान्ति उठ्नेछिन् र आफ्ना कुरा भन्न थाल्नेछिन् । काठमाडौंको गतिलो हस्पिटलबाट मकवानपुरको घरमा उनलाई ल्याउनुका पछाडि आर्थिकबाहेक 'घर परिवारको नजिक बस्दा ठीक भइहाल्छ कि !' भन्ने आश पनि थियो ।
 
अस्पतालको खर्च धान्न सक्ने थिएन । दिनको १८ सय- २ हजार जति लाग्थ्यो । 'डाक्टरले यो निको हुने रोग होइन, घरै लगे हुन्छ भन्यो,' तेजबहादुरले भने । शान्तिलाई हरेक दुई घन्टामा केही खुवाउनुपर्छ । खुवाउनु के पाइपबाट हालिदिनुपर्छ । अस्पताल बस्दा क्यान्टिनबाट किनेर खुवाउँदा नसक्ने भएपछि यी दम्पतीले घरबाटै सामग्री लगेर पिनेर पिठो बनाए । र, अस्पतालमा आफूलाई बस्न दिएको कोठाको हिटरमै खोले पकाएर छोरीलाई खान दिन थाले । यहाँ लागेको खर्च वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले बेहोरिदियो । तामाङ घेदुङले पनि उनलाई सहयोग गर्‍यो ।
 
अहिले घरमा पनि शान्तिलाई दुई घन्टामा खाना चाहिन्छ । घरका मानिसहरू पालैपालोजस्तो उनको कुरुवा बस्छन् । नजिकैको खेतबारीमा काम गर्दै, उनलाई खुवाउन आउँदै । दिसा गराउनका लागि उनलाई औषधि खुवाउनुपर्छ । पिसाबमा चाहिँ नियन्त्रण छैन । यसैले खर्चको धेरै भाग डाइपरमा गयो । साउनमा उनी काठमाडौं आइपुग्दा कुवेतको हस्पिटलले उनका साथ नुहाउने साबुन, स्याम्पु, रुमाल, पाँच-छ प्याक डाइपरका साथ २०-२५ वटा खाना पठाउने पाइप पनि पठाइदिएको थियो ।
 
'यस्तो होला भनेर पठाएको होइन तर अब के गर्ने सास छउन्जेल स्याहार गर्नैपर्‍यो,' तेजबहादुरलाई बेलाबेला यस्तै लाग्छ । 'यसको कर्मै यस्तै रैछ, सँगै गएका अरू सग्लै फर्किए,' आमाको चित्त घरीघरी दुखिरहन्छ । खाटको छेउमा बसेर गरिने यस्ता कुरा शान्ति हरेकपटक सुन्छिन् । यसपटक भने कुरा सुन्दा  उनको अनुहार शान्त थियो ।
 
lll
 
एउटा ठूलो दुर्घटनामा परेकी भर्खरकी केटीको मनमा के-के होला । बोल्न मन लागेका कुरा कति होलान् । बुबा र आमालाई भन्नुपर्ने कुरा कति होलान् ?
 
पहिलोपटक विदेश जाँदा कति रमाइलो भयो होला, शान्तिले अनुहार उज्यालो बनाएर आमालाई कहिल्यै सुनाउन पाइनन् । कुवेतमा घर मालिकले दिएको यातना बताउन भ्याइनन् । यति ठूलो चोटको कारण भन्न सकिनन् । बोल्न सक्ने भए उनी पहिले के बोल्दी हुन् ? ती मौनजस्ता लाग्ने आँखामा कति कुरा होलान् । र, हरेक दिन आवाज हराएको मनमा आपmनै आत्माको कस्तो आवाज गुन्जिँदो होला ?
 
'७५ प्रतिशत ठीक होला भन्ने लाग्दैन,' यो हिसाबमा आमाबाबुकै सहमति छ । बूढी भएकी हजुरआमाचाहिँ हिसाब जान्दिनन् । उनको एउटै कामना छ, 'नातिनीलाई ठीक भइदिए हुन्थ्यो ।' बाबुआमालाई पनि आशा त छ । 'बोल्छ कि बोल्दैन भन्दा पनि बोलिदिए हुन्थ्यो भन्ने लाग्छ,' बाबुले भने ।
 
शान्तिलाई खास भएको के थियो घरका कसैलाई थाहा छैन । घरबाट हामफालेर यस्तो भएको भन्ने तेजबहादुर र सुनिमायाले सुनेका छन् । 'मलाई त काममा चित्त नबुझेर वा रिसाएर साहुले करेन्ट लाइदिएको हो जस्तो लाग्छ,' बाबुले भने । आमा यस्तो कुनै अनुमान गर्दिनन् ।
 
कुनै दिन शान्तिलाई होस आयो र उनी बोल्न सक्ने भइन् भने, आमाबुबा दुवैले उनलाई एउटै प्रश्न सोध्नेछन्, 'तिमीलाई के भएको थियो छोरी ?'
 
lll
 
शान्तिको कोठाको ढोकामा एउटा सादा कागजमा कालो मसीले कलात्मक पाराले लेखेर टाँसिएको छ, 'म सदैवा साथ दिन्छु केवल...।' शान्तिका कान्छा भाइ भित्तामा यो टाँसेर मलेसिया हिँडेका थिए ।
 
उनी एक दिन दिदीका दुःखका कथा सुन्न आउनेछन् । त्यतिबेला कथा सुनाउन शान्तिसँग आफ्नै आवाज होला वा नहोला ? थाहा छैन । मनभरी गुम्सिएको कथा भने जस्ताको तस्तै हुनेछ !
 
र, सायद त्यतिबेला कुनै अपरिचितले सोध्दा कसैले शान्तिलाई 'अपाङ' पनि भन्ने छैनन् !
 
Sourse- ekantipur.com
 
प्रकाशित मिति: २०६८ चैत्र १९ ०१:१७

 

 

कमेन्ट लेख्नुहोस (Add comment)


Security code
Refresh

एआरएन युएई जनचेतना अभियान

के तपाईं वैदेशिक रोजगारका क्रममा युएई आउदै हुनुहुन्छ? वा युएईमा कार्यरत हुनुहुन्छ? युएई सम्बन्धि जानकारीहरु हासिल गर्नुहोस्

एनआरएनए यूएईको महाधिवेशन सम्बन्धी नियमावली